राष्ट्रपति चुनावमा ८८१ जना मतदाता रहने
काठमाडौं । राष्ट्रपति चुनावमा ८८१ मतदाता रहने भएको छ । राष्ट्रपति चुनावमा प्रतिनिधि सभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी ८८४ जनाले मतदान रहने निर्वाचन आयोगले जनाएको छ ।
तर, यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुनुसक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । प्रतिनिधि सभाका २७५ मध्ये चितवन–२ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन् । अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ । जसको नाम आयोगले खुलाएको छैन ।
तथापि, महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा आयोग निर्णयमा पुगेको छैन ।
निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्नेछ । त्यसपछि दाबी, विरोध र उजुरीका काम हुनेछन् । उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुनेछ । अन्तिम मतदाता नामावली फागुन १२ गते नै प्रकाशन गर्न आयोगले कार्यतालिका छ ।
राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ भने २५ गते निर्वाचन हुनेछ ।
