राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउने पक्षमा जसपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउने पक्षमा निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको सो पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार, बैठकमा फागुन २३ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि छलफल भएको र राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा निर्णय भएको हो ।
बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको बताइएको छ ।
यस्तै, पार्टीको विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको छ । साथै बैठकमा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानविन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएको ती नेताले बताए ।
