कैलाली कारागारबाट रिहा भए सांसद अरुण चौधरी
धनगढी । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् । चौधरी कैलाली कारागारबाट रिहा भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको जानकारी दिए ।
२०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
