मकवानपुर कांग्रेसले मनायो स्व.कोइरालाको स्मृति दिवस
हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोईरालाको ८ औं स्मृति दिवस मनाइएको छ । हटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा रहेको वीपी स्मृति भवनमा स्व. कोइरालाको फोटामा माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, उपसभापति आनन्दराम कठाएत, निवर्तमान कार्यवहाक सभापति विष्णुप्रसाद लामिछाने, पूर्व जिल्ला सभापति रामचन्द्र आर्याल माइकल, जिल्ला सचिव भिमसेन महत, सहसचिव द्वय इन्दिरा न्यौपाने एवं ताराचन्द्र बजागाईँ निशान, अनुशासन समितिका संयोजक प्रभात दहाल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, नेविसंघका अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका सचिव सचित थापा लगाएतले स्व। कोइरालाको फोटोमा पुष्पगुच्छा चढाएर सम्मान प्रकट गरेका थिए ।
२०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो । कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बनेका थिए । पार्टी सभापति रहेकै बेला उनको निधन भएको थियो ।
२०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिएका थिए । उनको कार्यकालममा देशले नयाँ संविधान पाएको थियो । उनलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ ।
