राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका दसौंदी विजयी

तु खबर संवाददाता
२०७९ माघ २५, बुधबार १६:२४

काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन् । बुधबार दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म संचालन भएको निर्वाचनबाट दसौली विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् । दसौंदीले ४ हजार २६ मत प्राप्त गर्दा कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मत प्रापत गरेका थिए ।

दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।