बागमती प्रदेशमा चालु आर्थिक वर्षमा ११ अर्ब १९ करोड खर्च
मकवानपुर । बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च भएको छ ।
प्रदेश सरकारले चालु आवको लागि ल्याएको रु ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेटमध्ये ६ महिनाको अवधिमा रु ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च गरेको बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौंडाले जनाएको छ ।
चालु आव २०७९/०८० को साउनदेखि पुस मसान्तसम्ममा १५ दशमलव ७८ प्रतिशत कूल खर्च भएको बताइएको छ । सो अवधिमा सरकारले रु १६ अर्ब १५ करोड विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको प्राप्त तथ्याङ्कले जनाएको छ ।
चालु आवको छ महिनामा उक्त राजस्व सङ्कलन सरकारको खर्चभन्दा बढी देखिएपनि गत आवको तुलनामा कम रहेको छ । गत आवको ६ महिनामा सरकारले रु ८ अर्ब खर्च गरेको थियो भने सो अवधिमा सरकरले रु २३ अर्ब राजस्व सङ्कलन गरेको थियो ।
गत आवको सोही अवधिको तुलनामा प्रदेश सरकारको खर्च बढेको छ भने राजस्व सङ्कलनमा २९ प्रतिशतले कम भएको सो कार्यालयले जनाएको छ ।
