माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भएको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।
पार्टीको बैठक यसअघि पटक–पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताए ।
गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने सङ्केत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बिहीबार बैठक बस्न नपाउँदै स्थगित गरेका थिए ।
रवि लामिछाने नेतृत्वको पार्टीले आजसम्म गृह मन्त्रालय टुङ्गो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ । माओवादीको बैठकमा यो विषयसँगै नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ ।
बलि दिन भारत पुर्याइएकी बालिकाको उद्धार
काठमाडौं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो ।
उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ । ब्यूरोले शुक्रबार पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो ।
ब्यूरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार, बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो ।
६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ ।
निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताए । पीडित बालिका मङ्सिर १७ गते मामाघरबाट काठमाडौं ल्याइएको थियो । पुस १९ गतेसम्म काठमाडौंमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्याइएको प्रहरीको भनाइ छ ।
भारत पुर्याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।
अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।
