लागूऔषधसहित दुई जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ माघ ११, बुधबार १७:४८

काठमाडौं । प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ र सिरहाबाट बुधबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्वर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन १२ एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको उर्लाबारी नगरपालिका–७ बस्ने ३४ वर्षीय किरण मगर रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो रानी विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मगरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले बुधबार नै सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय २६ ट्याब्लेट र कोरेक्स १०० एमएलको १ बोतलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका–३२ चोर्नी बस्ने २५ वर्षीय मुन्ना महतो रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

दुबै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।