एमाले सांसद कोइरीलाई पक्राउ गर्न ७७ जिल्लामा सर्कुलर

तु खबर संवाददाता
२०७९ माघ ८, आईतवार १५:०५
file-photo

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर जारी गरिएको छ । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको हो ।

नेकपा (एमाले)का सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी लागिराखेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले जानकारी दिए ।

सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन् । कोइरीलाई राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’ का कारण उनी प्रहरीको ‘खोजी सूची’ मा छन् ।

अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । सांसद कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ ।