लागूऔषधसहित चार जना प्रहरीको फन्दामा
काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौं, धादिङ, दाङ र सर्लाही जिल्लाबाट शुक्रबार लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले काठमाडौंका चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित ईलाम सूर्योदय नगरपालिका–१० घर भएका १९ वर्षीय सुबेक प्रधानलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको छ । झापाबाट काठमाडौं जाँदै गरेको ना.६ ख ३२६८ नम्बरको बसलाई प्रहरीले चेकजाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट लागूऔषध गाँजा अन्दाजी २० केजी र नगद ४९ हजार रूपैयाँसहित स्याङ्जा भिरकोट नगरपालिका–२ बस्ने ३५ वर्षीय प्रेम गुरुङलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा.२ ग १४१० नम्वरको माईक्रोलाई चेकजाँच गर्ने क्रममा माईक्रोमा सवार गुरुङको झोलाबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाइ नियन्त्रणमा लिएको हो ।
त्यस्तै, दाङको राप्ती गाउँपालिका–१ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३७ मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय बिशाल थापालाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरी, सर्लाहीको बरहथवा नगरपालिका–७ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २७ ट्याब्लेट सहित सोही नगरपालिका– ८ बस्ने २३ वर्षीय राम उजैन पासवानलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी नियन्त्रणमा लिएको हो ।
