बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ माघ ६, शुक्रबार १७:४३
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंबाट बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ । प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङलाई पक्राउ गरेको हो।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उच्च अदालत पाटनको २०७९ बैशाख ६ गतेको फैसलाले ८ लाख २४ हजार रुपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ३२ हजार ९ सय ६० रुपैयाँ छतिपूर्ति शुल्क भराउने ठहर भई उनी फरार रहेका थिए ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।