मकवानपुरका पाख्रिनसहित ८ जना प्रहरीको फन्दामा
मकवानपुर । प्रहरीले ठुलो परिमाणमा अवैध रुपमा काठसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौको तार्केश्वर नगरपालिका–१ स्थित जगत बसपार्कबाट १६ सय ६७.२५ क्युफिट काठसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मकवानपुरको थाहा नगरपालिका–८ घर भएका २७ वर्षीय बिनोद पाख्रिन, नुवाकोट पञ्चकन्या–४ का ३१ वर्षीय सुकमान तामाङ, शिबपुरी गाउँपालिका–३ घर भएका २८ वर्षीय सूर्य तामाङ, ३० वर्षीय सूर्य लामा, २५ वर्षीय छिरिङ लामा, २० वर्षीय वीरेन्द्र तामाङ, टोखा बस्ने ४० वर्षीय सन्तु तामाङ र उत्तरगया घर भएका ३१ वर्षीय सुक्रबहादुर लोलाई नियन्त्रणमा लिएको हो ।
नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०१००६ ख. ४९४१, बा. ५ ख. ३६५६, बा. ५ ख १४३९ र बा. ५ ख. ३३५६ नम्बरको मिनी ट्रकमा ल्याउँदै गरेको अवस्थामा चिलाउने र उत्तिस जातका काठ उक्त परिमाणमा बरामद गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उत्तिसको काठ गोलिया–५१४ र चिलाउने काठ गोलिया–६२ रहेको छ । प्रहरीको नियन्त्रणमा रहेका उनीहरु र बरामद काठको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
