बागमती प्रदेश : गठबन्धनबाट राप्रपाका पाठक सभामुख पदका उम्मेदवार बन्ने

तु खबर संवाददाता
२०७९ पुष २७, बुधबार १६:४९
file-photo

मकवानपुर । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले बताए ।

सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । बागमती प्रदेशसभामा सभामुखको निर्वाचन शुक्रबार हुँदैछ ।

सभामुख निर्वाचनको लागि भोलि पुस २८ गते बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको लागि, सोही दिन दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनयन फिर्ताको समय र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।