लागूऔषधसहित दुई जना मकवानपुर प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ पुष २४, आईतवार १५:५४

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने २९ वर्षीय बिनोद सहनी र ४५ वर्षीय बुनि सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, बिहान ९ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका–७, मनहरी बजारबाट लागूऔषध गाँजा १ किलो ६०० ग्रामसहित उनीहरुलाई पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा पैदल हिडिरहेका बिनोदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले कम्मरमा प्लास्टिकले बेरी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा बरामद गरेपछि प्रहरीले बुनीलाई समेत पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।