अमेरिकाबाट शंकास्पद पैसा ल्याउन खोज्ने शाहसहित ६ जना पक्राउ

तु खबर संवाददाता
२०७९ पुष २३, शनिबार १०:०६
सांकेतिक तस्बिर

काठमाडौं । अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम ल्याउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अछामका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरिएको हो ।प्रहरीका अनुसार, उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ।

शाहले अमेरिकाबाट ल्याउन लागेको शंकास्पद १२ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोकेर राखिदिएको थियो ।

उक्त रकम फुकुवा गरिदिन शाहले विभिन्न निकायमा धाएका थिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम फुकुवा गरिदिन राष्ट्र बैंकलाई पत्र पठाएपछि तीव्र आलोचना भएको थियो ।

ब्युरो प्रहरीका अनुसार दर्जनौं कम्पनी खोलेर शंकास्पद कारोबार गरेको, कारोबार गर्न अनुमति पनि नलिएको, विदेशीहरूलाई प्रलोभन देखाएर झुक्याएको, यसअघि पनि शंकास्पद कारोबार गरेको भन्ने आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।