सुदूरपश्चिम प्रदेशसभामा सभामुखको निर्वाचन पुस २८ गते

तु खबर संवाददाता
२०७९ पुष २०, बुधबार १५:४५

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयले बुधबार सूचना जारी गर्दै पुस २८ मा सभामुखको निर्वाचन हुने जानकारी गराएको हो ।

सचिवालयले २७ गते बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रदेशसभाको कुनै सदस्यले सभामुखमा मनोनयन दर्ता गराउन सक्ने बताएको छ । दिउँसो ३ बजेसम्म दर्ता भएको प्रस्तावअनुसारको नामावली प्रकाशन गर्ने, दिउँसो ४ बजेसम्म प्रस्तावमाथि दाबी विरोधको समय तोकिएको छ ।

यस्तै, सोही दिन ४ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने समय राखिएको छ भने २८ गते दिउँसो १ बजे प्रदेशसभा भवनमा सभामुख चयनका लागि मतदान हुनेछ ।

प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकले माघ २ मा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, प्रदेशसभा सचिवालयले नियमावली देखाउँदै २८ गते सभामुखको निर्वाचन गर्ने जनाएको थियो ।