हत्याको आरोपमा तीन जना पक्राउ
जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । दासको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरा र ज्वाईँसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा मृतकका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिकाका रञ्जित यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ४० वर्षीय दासको गत पुस ९ गते आफ्नै घरमा बसिरहेका बेला गोली प्रहारबाट हत्या भएको थियो ।
उनीहरुलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनामा संलग्नको आरोप लागेका भारत बिहारको खजुली बस्ने आकाश भनिने सोनु मिश्रा फरार छन् । मृतकका ज्वाइ उदय मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सवारी चालक छन् ।
