सुदूरपश्चिम प्रदेशसभामा माघ २ गते सभामुख चयन गर्ने

तु खबर संवाददाता
२०७९ पुष १७, आईतवार १६:४०

धनगढी । सुदूरपश्चिममा अगामी माघ २ गते सभामुख चयन गर्ने भएको छ । आइतबार ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको पहिलो बैठकमा सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने र माघ २ गते निर्वाचन गर्ने सर्वदलीय बैठकले निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार, सभामुखका लागि एक जनाको उम्मेदवारी परेको बाहेकको अवस्थामा मतदान हुनेछ । सबैभन्दा बढी मत पाउने प्रदेशसभा सदस्य सभामुखमा निर्वाचित हुनेछन् ।

सभामुख चयनको लागि ज्येष्ठ सदस्यको अध्यक्षतामा ५ सदस्यीय अध्यक्षता मण्डलसमेत चयन गरेको छ । पहिलो बैठकमा प्रदेशसभामा प्रतिनधित्व गर्ने सबै राजनीतिक दलका तर्फबाट संसदीय दलका नेताले शुभकामना मनतव्य राख्ने कार्य सूची तय गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस (१९), नेकपा माओवादी केन्द्र(११), नेकपा एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७), नेकपा एकीकृत समाजवादी पार्टी(४), राप्रपा (१)र एक जना स्वतन्त्र गरी ५३ सांसद रहेका छन् । एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।