अश्लिल भिडियो पठाएर पैसा मागेको आरोपमा एक जना पक्राउ
काठमाडौं । सामाजिक संजाल टेलिग्राममा नाबालिगको अश्लील भिडियो पठाएर पैसा मागेको आरोपमा प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–७ घर भएर काठमाडौंको बुढानिलकण्ठ बस्ने रोजित आले मगर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, १८ वर्षीय रोजितलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको हो । आरोपीले सामाजिक सञ्जालको माध्यमबाट प्रेमको नाटक गरेर कुराकानी गर्ने र अश्लील क्रियाकलापको फोटो भिडियो टेलीग्राम च्याट ग्रुपमा पोष्ट गरेर रकम बार्गेनिङ गर्ने गरेका थिए ।
रोजितको सो गतिविधिबाट महिला र नाबालिगहरु पीडित भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
