अपहरण गरी फिरौती मागेको आरोपमा एक पक्राउ
काठमाडौं । महोत्तरीमा अपहरण गरी फिरौती मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मधुवनी पंचायत बेता पर्सा–१ का ४८ वर्षीय महमद मुखतर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पिपरा गाउँपालिका–५ चाँदनी चौकस्थितबाट लहान नगरपालिका–३ मा बस्ने ४० वर्षीय मोहम्मद इसराक सिद्दिकी अपहरणमा परेका थिए । उनको सकुशल उद्धार गरिएको छ । उनलाई गत शनिबार दिउँसो साढे १२ बजे अपहरण गरिएको थियो । अपहरण गरेको आरोपमा प्रहरीले मुखतरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनी गाडी बनाउने मिस्त्री समेत हुन्। उनको समूहले सिद्दिकीकी श्रीमती सुबही खातुनसँग १५ लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए। श्रीमानलाई अपहरण गरी फिरौती मागेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो ।
बुधबार फिरौती रकम लिएर सुबही खातुन मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिक पर्ने एकान्तस्थलमा पुगेकी थिइन् । उनी त्यहाँ पुगेको खबरपछि विभिन्न मातहतको टोली पनि खटिएको थियो । उक्त टोलीले ९ लाख रुपैयाँ सहित महमद मुखतारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बाँकी तीन जना अपहरणकारी फिरौतीको साढे २ लाख रुपैयाँ लिएर भारत फरार भए । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मुखतरलाई महोत्तरी जिल्ला अदालत जलेश्वरमा उपस्थित गराई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जनाइएको छ ।
