नक्कली नोट र बाघको हड्डीसहित ५ जना पक्राउ

तु खबर संवाददाता
२०७९ पुष १२, मंगलवार ०९:५८
सांकेतिक तस्बिर

धनगढी । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्क र १३ को राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्परेसन अगाडी नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित चुरे गाउँपालिका–६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा १ हजार दरका थप १३८ नोटसहित अन्य चार जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरुमा राजपुरस्थित एस एस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका–६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका–१० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका–१ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् ।

राजपुरमै डेरा गरेर बस्ने धामीको कोठा खानतलासी पलङ खटियाको सिरानीमुनि लुकाएर राखेको अवस्थामा १३८ थान नक्कली नोट, जेब्रा झोलामा बाघको जस्तो करीब साढे ५ किलो देखिने अस्थीपंजर हड्डी र प्लाष्टिकभित्र लुकाएको अवस्थामा प्रतिबन्धित जडिबुडी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।