कारागारमै बोलाए रेशम चौधरीले नागरिक उन्मुक्तिको बैठक

तु खबर संवाददाता
२०७९ पुष ११, सोमबार १०:०२
file-photo

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई कारागार बोलाएका छन् ।

चौधरीले सोमबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका शीर्ष नेताहरूलाई डिल्लीबजारस्थित कारागारमा छलफलका लागि बोलाएका हुन् । आईतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात दलीय छलफलमा रेशम संस्थापक रहेको उन्मुक्ति पार्टी पनि सहभागी थियो ।

उक्त छलफलपछि सरकारमा सहभागी हुन सहमति दिएको उन्मुक्ति पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेको छ ।

पार्टीका प्रवक्ता दामोदर पण्डितले संघीय सरकार र प्रदेश सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल गर्न आफूहरू डिल्लीबजार कारागार गइरहेको पुष्टि गरेका छन् ।