बागमती प्रदेशसभाको हिउँदे अधिवेशन पुस १७ गते आह्वान गर्ने सर्वदलीय बैठकको निर्णय
मकवानपुर । बागमती प्रदेशसभाको शुक्रबार दिउँसो बसेको सर्वदलीय बैठकले प्रदेशको हिउँदे अधिवेशन यही पुस १७ गते बस्ने गरी आह्वान गर्ने निर्णय गरेको छ ।
प्रदेशसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षमा बसेको बैठकले पुस १७ गते दिनको २ बजे बस्ने गरी हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यस्तै, बैठकले प्रदेशसभाको ज्येष्ठ सदस्य ढुंगानाको शपथ ग्रहण कार्यक्रम यही पुस १३ गते दिनको २ बजे गर्ने कार्यसूची स्वीकृत गरेको छ । ढुंगानालाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीताको शपथ ग्रहण गराउने भएको सरकारका प्रवक्ता एवम् बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले बताए ।
यसैगरी, उक्त बैठकले यही पुस १४ गते दिनको २ बजे प्रदेशसभाका नवनिर्वाचित १०९ सदस्यहरुको शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उनीले ज्येष्ठ सदस्य ढुंगानाबाट शपथ ग्रहण गर्नेछन् ।
उक्त सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजावदी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यहरुको सहभागीता रहेको थियो ।
