सर्वोच्चद्वारा रवि लामिछानेविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले लामिछानेविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले दल दर्ता गर्ने बेलादेखि नै त्याग भइसकेको नागरिकताको प्रतिलिपि प्रयोग गरेको कारण दल दर्ता हुँदा प्रयोग भएको सभापतिको पद, निर्वाचनमा भाग लिँदाको मनोनयनदेखि सांसद पदमा शपथ नगराउन सम्मको माग दावी लिएर सर्वोच्चमा रिट परेको थियो ।
गत मंसिर २८ गते संवैधानिक इजलासमा दर्ता भएको उक्त रिट बुधबारको संवैधानिक इजलासमा पेसी चढेको थियो ।
बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले सांसद पदको शपथ नगराउन माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यद्यपि उक्त विवादका विषयमा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको रिट निवेदक युवराज पौडेलले जानकारी दिए ।
सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेलगत्तै लामिछानेले सांसद पदको शपथ गर्ने बाटो खुल्ला भएको छ ।
