निर्वाचन आयोग : आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

तु खबर संवाददाता
२०७९ मंसिर २७, मंगलवार ०९:४७

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने भएको छ ।

गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको र आज नामावली सार्वजनिक हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएको छ ।

आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधि सभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५/५ सिट पाएका छन् ।

यस्तै, प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ । समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।