समानुपातिक सांसदको टुंगो लगाउन दिएको समयसीमा आज सकिँदै

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक संसदको टुंगो लगाउन दिएको समयसीमा आज सकिँदैछ । आयोगले आज दिउँसो ४ बजेसम्म सबै राजनीतिक दलहरुलाई आ–आफ्नो सांसदको नाम टुंगो लगाउन समयसीमा तोकिएको हो ।
नेपाली कांग्रेस, एकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारी गरेको छ । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा तर्फको समानुपातिक सिट बाँडफाँट अनुसार, सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेश सभाको हो ।
प्रतिनिधि सभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।
यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधि सभामा ३२, प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।
४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधि सभामा १४, प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।
२४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधि सभामा ७, प्रदेश १ मा ४, मधेस प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा मात्र १३ सिट पाएको छ ।
एकीकृत समाजवादीले प्रतिनिधि सभामा सिट पाएको छैन भने प्रतिनिधि सभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेश सभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ ।
जनतम पार्टीले प्रतिनिधि सभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ । प्रदेश सभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।