मकवानपुरका दुई जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ७ बाट ३८ किलो लागूऔषध गाँजाको धुलोसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मनहरी–७ बस्ने ३५ वर्षीय हरि कृष्ण अधिकारी र ३५ वर्षीय कृष्ण राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनीहरुलाई राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको प्रतापपुर पोष्टबाट उप–सेनानि अनिल जिसीको कमाण्डमा खटिएको गस्ति टोलिले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उनका अनुसार, गस्ति गर्दै जाने क्रममा निकुञ्ज एरियामा प्लास्टिकको ३ वटा बोरामा शंकास्पद सामान बोकी हिडिरहेको अवस्थामा उनीहरुलाई फेला पारी खोलतलासी गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
