बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । प्रहरीले दोलखा भिमेश्वर नगरपालिका–३ चरिकोट ठेगाना भएका ७० वर्षीय जनक बहादुर कार्कीलाई पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४१ लाख रूपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले दोलखा चरिकोटबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, कार्कीले २०७५ चैत १९ गते प्रभु बैंक लिमिटेडमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दोलखामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय दोलखामा पठाइएको जनाइएको छ ।
