थापाथली झडपमा घाइते भएकाको नर्भिकमा उपचार

तु खबर संवाददाता
२०७९ मंसिर १२, सोमबार १७:०१

काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई दर्जनभन्दा बढी घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ ।

काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामूढा प्रहार गरेका थिए । सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामूढा लागेर घाइते भएका उनीहरुको नर्भिकमा उपचार भएको हो ।

सो क्रममा काठमाडौ महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको अस्पतालले जनाएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।

अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ । झडपमा घाइते अन्यको समेत नर्भिकमा उपचार भएको थियो ।

स्थानीय बासिन्दाहरुले ‘बालेन शाह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । गृहमन्त्री मुर्दावाद, काठमाडौं महानगरपालिका मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध गरेका थिए ।