मकवानपुरका नवनिर्वाचित सांसदलाई प्रमाणपत्र वितरण
मकवानपुुर । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा मकवानपुरबाट निर्वाचित सांसदहरुलाई सोमबार प्रमाणपत्र वितरण गरिएको छ । प्रतिनिधि सभाका २ जना र प्रदेशसभाको ४ जना सांसद्लाई प्रमाणपत्र वितरण गरिएको हो ।
उनीहरुलाई मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला र निर्वाचन क्षेत्र नम्वर–२ का निर्वाचन अधिृकत मुकुन्दहरि पौडेलले प्रमाणपत्र विरण गरेका हुन् ।
मकवानपुर क्षेत्र नम्वर–१ बाट प्रतिनिधि सभामा निर्वाचित राप्रपाका दिपकबहादुर सिंह, सो क्षेत्रबाट क्रमशः प्रदेश सभा (१) मा निर्वाचित नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, प्रदेश सभा (२) मा निर्वाचित नेकपा एमालेका एकालाल श्रेष्ठलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
त्यस्तै, क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभामा निर्वाचित नेकपा एमालेका महेश बर्तौला, सोही क्षेत्रको प्रदेश सभा (१) मा निर्वाचित नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान र प्रदेश सभा (ख) मा निर्वाचित नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई पनि प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
मकवानपुरमा क्षेत्र नम्वर १ मा निर्वाचित सिंहले २७ हजार ८५१, १(१) मा मा निर्वाचित पुलामीले १९ हजार ७३३ र १(२) मा निर्वाचित श्रेष्ठले १४ हजार २४७ मत प्राप्त गरेका छन् ।
यस्तै, जिल्लामा क्षेत्र नम्वर २ मा निर्वाचित बर्तौलाले ३४ हजार ९५०, २ (१) मा निर्वाचित मोक्तानले १९ हजार ९०९, २ (२) मा निर्वाचित बानियाँले १८ हजार ९४४ मत प्राप्त गरेका थिए ।
