मकवानपुरमा ५२ प्रतिशत मत खस्यो
मकवानपुर । हाल मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनको लागि मतदान जारी छ । जिल्लाको क्षेत्र नम्वर १ र २ मा गरी दिउँसो ४ः२० बजेसम्ममा ५२ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, जिल्लामा बिहान ७ बजेदेखि हासम्म १ लाख ५७ हजार ३३३ जनाले मतदान गरेका छन् । जसमध्ये ८२ हजार २५३ जना पुरुष र ७५ हजार ७८ जना महिला रहेका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार, जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिका गरी ३६४ वटै मतदान केन्द्रमा अहिले मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट संचालन भइरहेको छ ।
जिल्लामा ३ लाख ७३३ मतदाता रहेका छन् । जसमध्ये क्षेत्र नम्वर १ (क) मा ७७ हजार ९८९ (ख) ७२ हजार १६६ मतदाता र क्षेत्र नम्वर २ (क) मा ८३ हजार ०९९ र (ख) मा ६७ हजार ४ सय ७९ गरी कूल ३ लाख ७ सय ३३ मतदाता रहेका छन् ।
मकवानपुरमा निर्वाचन सम्पन्न गर्न क्षेत्र नम्वर १ मा १ हजार ३८२ र क्षेत्र नं. २ मा १ हजार ५३६ गरी कुल २ हजार ९१८ जना मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी र कार्यालय सहयोगीहरुसहित जिल्लाको सबै मतदान केन्द्रहरुमा खटिएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
