मकवानपुरमा १० वटा मतदानस्थल अपाङ्गमैत्री, छुट्टै प्रवेशद्वारको व्यवस्था
मकवानपुर । मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १० वटा मतदानस्थल अपाङ्गमैत्री बनाइएको छ । ती सबै मतदानस्थल हेटौंडा उपमहानगरपालिका भित्र रहेको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार, जिल्लाको भुटनदेवी मावि हेटौंडा–४, बालज्योति मावि हेटौंडा–५, नवज्योति मावि हेटौंडा–७, वडा नम्वर १५ कार्यालय रातोमाटे, रोप वे भवन हेटौंडा–१, महेन्द्र किरण मावि हेटौंडा–३, सिद्धार्थ मावि हेटौंडा–२, जनप्रिय उच्च मावि हेटौंडा–१६, विष्णुज्योति आधारभूत विद्यालय हेटौंडा–१२ र ज्ञानदा मावि हेटौंडा–१० मतदान स्थल अपाङ्गमैत्री बनाइएको हो ।
अपाङ्गमैत्री मतदान स्थलमा मतदान गर्ने ठाउँसम्म पुग्नका लागि अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।
उनका अनुसार, अपाङ्गमैत्री प्रवेशद्वारबाट अपाङ्गता भएका व्यक्तिका साथै वृद्ध, अशक्त, गर्भवती र बिरामी भएका व्यक्तिहरुलाई समेत सजिलोसँग मतदान गराउने व्यवस्था गरिएको छ ।
जिल्लामा ३ लाख ७३३ मतदाता रहेका छन् । जसमध्ये महिला १ लाख ४७ हजार २००, पुरुष १ लाख ५३ हजार ५२८ र तेस्रोलिङ्गी ५ जना रहेका छन् ।
यस्तै, जिल्लाको क्षेत्र नम्वर १ र २ मा गरी ३६४ मतदान केन्द्रको लागि स्थल निर्माण गरिएको छ । मकवानपुरमा निर्वाचन सम्पन्न गर्न क्षेत्र नम्वर १ मा १ हजार ३८२ र क्षेत्र नं। २ मा १ हजार ५३६ गरी कुल २ हजार ९१८ जना मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी र कार्यालय सहयोगीहरुसहित जिल्लाको सबै मतदान केन्द्रहरुमा खटिएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
