बागमती प्रदेशमा ३४ लाख ७१ हजारले मतदान गर्ने
मकवानपुर । बागमती प्रदेशमा यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा कुल ३४ लाख ७१ हजार ७ सय ९२ मतदाताले मतदान गर्ने भएका छन् ।
तीमध्ये महिला १७ लाख ३७ हजार ३ सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
कार्यालयका अनुसार, ती मतदाताका लागि प्रदेशका काठमाडौं उपत्यकासहित १३ वटै जिल्लामा गरी जम्मा ४ हजार १ सय ४३ वटा मतदान केन्द्र तोकिएको छ ।
यस्तै, प्रदेशमा अस्थायी मतदाताहरु पनि रहेकोले उनीहरूलाई आवश्यकताअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिए ।
उनका अनुसार, ती मतदान केन्द्रमध्ये कारागारमा रहेका कैदीबन्दी, तेस्रो लिङ्गी समुदाय र निजामती कर्मचारीलाई समानुपातिक सांसदको निर्वाचनमा मात्र मतदान गर्ने अवसर दिलाइएको छ ।
