३ जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ कार्तिक २८, सोमबार १६:५८

काठमाडौं । देशको विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–६ दुब्ले बस्ने ५५ वर्षीय गोपाल तामाङ सोही गाउँपालिका–६ स्थित थारे भीरमा आईतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खिजिदेम्बा गाउँपालिका–६ थारेस्थित ससुराली घरबाट शनिबार आफ्नो घर फर्किएका उनी आइतबार बिहानसम्म घर नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो ।

यस्तै, रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित सडक छेउको नालीमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आर्इतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी, झापाको कन्काई नगरपालिका–२ धनुषकोटी पिकनिक स्पोर्टको गेट अगाडि फलाईचामा हाल पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।