नक्कली नोट र हतियारसहित ६ जना पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक २६, शनिबार ०८:४६
सांकेतिक तस्बिर

रौतहट । रौतहट प्रहरीले नेपाली नक्कली नोट र अवैध हतियारसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपाली हजारको नोट ८७ थान, १ थान कटुवा पेस्तोल , ना. ३३ प. २४५१ नं. को होन्डा साईन मोटरसाइकल र ना. ३ पं. १६८१ नं.को बजाज बक्सर मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मौलापुर नगरपालिका–७ का २३ वर्षीय राजाराम साह, देवाहिगोनाही–६ का २० वर्षीय धीरज जयसवाल, बारा आदर्ष कोतवाल गाउँपालिका–६ का २५ वर्षीय सोनु भन्ने आनन्द कुश्वाहा, ४५ वर्षीया प्रतिमा देवी कुश्वाहा, २२ वर्षीया अम्रीता कुमारी, १९ वर्षीय ब्रीजकिशोर मुखिया रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले राजाराम साहको घरमा खानतलासी गर्दा नक्कली नोटका साथै भितामाथि लुकाई राखेको कटुवा पेस्तोल थान १ बरामद गरेको थियो । सो क्रममा स्थानीयले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो । ढुंगामुढाबाट २ जना म्यादी प्रहरीसहित ६ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।