सामान्य विवाद हुँदा खुर्पा प्रहार, मकवानपुरका राजकुमार घाइते

तु खबर संवाददाता
२०७९ कार्तिक २६, शनिबार ०७:५२
file-photo

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ रातोमाटेमा शुक्रबार घरेलु हतियार प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय राजकुमार न्यासुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शुक्रबार साँझ साढे ६ बजेकोको समयमा स्थानीय २८ वर्षीय बुद्धिलाल न्यासुर र २४ वर्षीय राज कुमार न्यासुरबीच सामान्य विवाद तथा झै–झगडा भएको थियो । सोही क्रममा बुद्धिलालले घरेलु हतियार खुर्पा प्रहार गर्दा राजकुमार घाइते भएका हुन् ।

घाइते राजकुमारको टाउकोमा चोट लागेको र उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । प्रहरीले खुर्पा प्रहार गर्ने बुद्धिलाललाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।