संविधान नमान्नेलाई जनतासँग मत माग्ने नैतिक अधिकार छैन : डीना

तु खबर संवाददाता
२०७९ कार्तिक २५, शुक्रबार ०७:४८

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ की लोकतान्त्रिक बाम गठबन्धन उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले जनताको अधिकार स्थापित गर्न ल्याएको संविधान नमान्नेहरुलाई जनतासँग मत माग्ने नैतिक अधिकार नभएको जिकिर गरेकी छन् । बिहीबार बागमती गाउँपालिका वडा नम्वर ९ लितिमा भएको चुनावीसभामा बोल्दै उम्मेदवार डीनाले यस्तो बताएकी हुन् ।

‘कमल थापा र दिपक सिंह अहिले जनताको घर–घर पुगेर भोट मागिरहेका छन्, डिनाले भनिन्, ‘जनताको अधिकारका लागि ल्याइएको संविधान नमान्ने उनीहरुलाई आज जनतासँग भोट माग्ने कुनै नैतिक अधिकार नै छैन ।’ उनले आफु बिजयी भए यस क्षेत्रका लागि राष्ट्रिय बजेट ल्याउने दाबी गरे । गठबन्धनको जित सुनिश्चित भइसकेको बताउँदै उनले अब मंसिर ४ गते कुर्नु परेको बताइन् ।

कार्यक्रम लोकतान्त्रिक बाम गठबन्धन प्रचार–प्रसार समिति वडा नम्बर ९ का सभापति मान बहादुर पाटाको अध्यक्षतामा भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्य बिजय गौतम, बागमती प्रदेश कमिटि सदस्य लक्ष्मी पाख्रिन, नेपाली कांग्रेसका जिल्ला सचिव ईश्वर पाठक, कोषाध्यक्ष होमनाथ गौतम, कांग्रेस महासमिति सदस्य मिरा बञ्जारा, निर्वाचन क्षेत्र नम्वर १ का प्रचार–प्रसार संयोजक दामोदर खनाललगायतको सहभागिता रहेको थियो ।