निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिंडेका नेकपा बहुमतका तीन नेता पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक २३, बुधबार १६:२५
सांकेतिक तस्बिर

बागलुङ । बागलुङमा निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिंडेका नेकपा बहुमतका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई प्रहरीले ट्राफिक चोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गलकोट नगरपालिका वडा नम्वर १ का ४५ वर्षीय दलसिंह खत्री, ३५ वर्षीय हरि नेपाली र ४५ वर्षीय कृष्ण बहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट निर्वाचन विरोधी पर्चा, पम्लेट र पोस्टर बरामद गरेको छ । नेकपा बहुमत विप्लव नेतृत्वको नेकपा विभाजन भएर बनेको हो । यी दुई पार्टीसहित ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको बहिष्कार गर्ने घोषणा गरेको छ ।