मंसिर १ गते रातिदेखि ४ गतेसम्म सीमा नाका बन्द हुने

तु खबर संवाददाता
२०७९ कार्तिक २०, आईतवार ०७:५५

बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैरकानुनी कार्यहरू नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, जाली नोट नियन्त्रणलगायतका साझा सवालहरुका विषयमा निर्णय गरेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

बैठकमा रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम तथा भारतको सिद्धार्थनगर, महाराजगंजका सुरक्षा अधिकारीहरू सहभागी थिए ।