सन्दीप लामिछानेविरुद्धका मुद्दामा आज पनि थुनछेक बहस

तु खबर संवाददाता
२०७९ कार्तिक १८, शुक्रबार ०८:०३

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

बिहीबार सन्दीपका तर्फबाट ८ जना अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बिहीबार पनि अन्य सबै पेशी स्थगित गराएर सन्दीपको मुद्दामा मात्रै बहस भएको थियो । थुनछेक बहसमा अझै केही अधिवक्ताहरु बाँकी रहेको काठमाडौं जिल्ला अदालत स्रोतले जनाएको छ ।

सन्दीपमाथि गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधार प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।