निर्वाचन आयोग : चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न

तु खबर संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १७:१०

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । जसमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश रहेको निर्वाचन आयोगले जनाएको छ ।

मन्त्रालका अनुसार, बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको हो । शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेश नं. १ को मतपत्र ढुवानी सुरु हुनेछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ । यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ । जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ ।

शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुनेछन् भने कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा मतपत्रसमेत पुग्ने निर्वाचन आयोगले जनाएको छ ।