सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस हुने

तु खबर संवाददाता
२०७९ कार्तिक १६, बुधबार ०८:३६

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ । मंगलबार बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि आज थुनछेक बहस हुने भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनीविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

सन्दीपमाथि गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधार प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।