झुटको कुरा गर्ने एमालेबाट जनताको शान्ति र समृद्धि सम्भव छैन : बानियाँ

तु खबर संवाददाता
२०७९ कार्तिक १५, मंगलवार १७:४७

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ (ख) प्रदेश सभातर्फका उम्मेदवार ईन्द्रबहादुर बानियाँले झुटको कुरा गर्ने एमालेबाट जनताको शान्ति र समृद्धि सम्भव नभएको बताएका छन् ।

चुनावी अभियान अन्तर्गत मंगलबार मनहरी गाउँपालिका–३ हाँडीखोलामा भएको लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेले जनताको सुख र मुलुकको विकास नचाहने आरोप लगाए । उनले भने, ‘एमालेले मुलुकमा सधैं झुटा आश्वासन र नारा बाहेक केही दिन सकेको छैन’, बानियाँले भने, ‘एमालेको नेता, नीति र नियती ठीक छैन, भोगाई पनि ठीक हुन्न ।’

एमालेलाई मनहरी गाउँपालिकाले स्थानीय तहमै अस्वीकार गरिसकेकोले अब प्रदेश र संघमा अस्वीकार गर्नुपर्ने बताए । गत स्थानीय निर्वाचनमा एमालेले मनहरीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित एउटा पनि वडा अध्यक्ष जित्न नसकेको प्रसंग निकाल्दै उनले अबको निर्वाचनबाट मकवानपुर एमालेविहीन हुने बताएका हुन् ।

‘माओवादीले र नेकपा एकीकृत समाजवादीले केपी ओली नक्कली कम्युनिष्ट भनेर छोडेर गठबन्धनमा आएका छन् । कांग्रेसले माओवादीसंग शान्ति प्रक्रियादेखि नै सहकार्य गर्दै आएको हो’, बानियाँले थपे, ‘केपी ओलीको ज्यादती र प्रतिगमनको समयमा एक भएर मुलुकलाई जोगाएका दलहरु अहिले गठबन्धन गरेर चुनावी मैदानमा रहेका छौं ।’

गणतन्त्रका लागि लडेकाहरुलाई गोली हान्ने कमल थापा र देश टुक्राउँछु भन्ने सीके राउत लगायतलाई एमालेले बोकेर हिंडेको भन्दै उनले एमालेले जितेमा मुलुक फेरि दुर्घटनामा जानसक्ने बताए । सनकको भरमा संसद विघटन गर्नेलाई फेरी किन भोट दिने ? भन्दै प्रश्न गर्नु जरुरी रहेको उनको भनाई थियो ।

कांग्रेको ३ नम्बर प्रचार–प्रसार समिति संयोजक रमेश पुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य भूमिनन्द अर्याल, नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेती, कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, गाउँपालिका सभापति प्रकाश बर्तौला, माओवादीका नेता सञ्जिव पाठक, नेकपा एसका राजन पाण्डेलगायतले मनतव्य व्यक्त गरेका थिए ।