पार्टी छाडेको भनी गलत प्रचार गरियोः कांग्रेस नेतृ राई
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकी जिल्ला सदस्य सुनिता राईले आफूले पार्टी परित्याग गरेको भनी सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट भ्रम फैल्याइएको भन्दै आपत्ति जनाएकी छन् । आफ्नो राजनैतिक चरित्र हत्या गर्न पार्टी परित्याग गरेको भनी सुनियोजित तरिकाले भ्रम फैल्याइएको भन्दै राईले आपत्ति जनाएकी हुन् ।
राईले मंगलबार एक विज्ञप्ति जारी गर्दै एक अनलाइन समाचार माध्यममार्फत आफूले पार्टी त्यागेर अन्य पार्टीमा लागेको भनी भ्रम फैल्याइएको बताउँदै आफू नेपाली कांग्रेस पार्टीमै रहेको बताएकी हुन् ।
जारी विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘मेरो राजैतिक चरित्र हत्या गर्ने मनशायबाट ग्रसित भई म नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गरेको भन्ने हल्ला झुठो र भ्रामक भएको र यस्ता भ्रामक समाचार सम्प्रेषण गर्ने अनलाइनप्रति खेद व्यक्त गदैृ म नेपाली कांग्रेसको सिद्धान्तप्रति प्रतिवद्ध रहेको जानकारी गराउँदछु ।’
उनले गलत समाचार लेख्ने अनलाइन सञ्चार माध्यम र समाचार भनी झुठा सामाग्री उपलब्ध गराउने व्यक्तिलाई पनि कारबाहीको माग गरेकी छन् ।
