‘एमालेबाट निर्वाचित आधा दर्जन वडाध्यक्षले गठबन्धनलाई जिताउन लागिपरेका छन्’

तु खबर संवाददाता
२०७९ कार्तिक १५, मंगलवार ०८:००

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार–प्रसारका लागि सोमबार निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका उम्मेदवार मकवानपुर विरोध खतिवडाले कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका स्थायी समिती सदस्य समेत रहेका नेता खतिवडाले आफ्नो क्षेत्रमा गत स्थानीय तहमा एमालेबाट निर्वाचित झन्डै आधा दर्जन वडाध्यक्षले आफूलाई जिताउन आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्घता जनाएको बताए । उनले भने, ‘एमालेबाट चुनाव जितेका झन्डै आर्जन वडाध्यक्षले मलाई यो चुनावमा सघाउने प्रतिबद्घता जनाइसकेका छन् । त्यसो हुँदा हामी दोब्बर मतले विजय हुन्छौं ।’

खतिवडाले आफूलाई सघाउने बचन दिएका वडाध्यक्षको नामै भनिदिन मन भएपनि भोलि एमालेले उनीहरुलाई असजिलो पार्ने भएकाले उनीहरुको परिचय भने अहिले गोप्य राख्नुपर्ने बताए । ‘मलाई अनि गठबन्धनलाई जिताउन लागिपरिरहेका उनीहरुको नामै पनि भनिदिन हुन्थ्यो । तर नामै भन्दा अरिङ्गालहरु गएर झम्टिदेलान् । उनीहरुमाथि प्रहार होला भन्ने डर भएकाले अहिलेलाई हामी ढुक्क भएर बस्दा मात्र हुन्छ ।’

एमाले अध्यक्ष केपी ओली प्रतिगामी भएकाले आफूहरुले विद्रोह गरी गठबन्धन बनाएर जनताको माझमा आएको उनले बताए । इन्द्रसरोबर गाउँपालिका पर्यटन विकासको सम्भावना भएको ठाउँ भएकाले यसको विकासका लागि लागिपर्ने प्रतिबद्घता पनि उनले जनाए । ‘इन्द्रसरोबर फेवातालको विकल्प बन्नेछ । यसबाट पर्यटकीय विकास हुनेछ ।’ खतिवडाले भने, ‘पर्यटन, होटल र अन्य व्यवसायका लागि यसबाट फाइदा पुग्नेछ ।’ उनले संघीय सरकारले सात वटा प्रदेशको सात स्थानलाई पर्यटकीय क्षेत्र भनेकोमा बागमती प्रदेशमा इन्द्रसरोबरलाई एक नम्वरमा पारिएको उल्लेख गरे ।

यस्तै, क्षेत्र नम्वर २ को प्रदेश सभा (क) का उम्मेदवार कुमारी मोक्तानले बागमती प्रदेशमा ४ वर्षसम्म एमालेका डोरमणि पौडेलको सरकार भएकाले चाहेर पनि आफूले सोचजति काम गर्न नपाएको बताइन् । ‘डोरमणि पौडेल मुख्यमन्त्री भएकाले आफ्नालाई छानी छानी बजेट दिए ।’ मोक्तानले भनिन्,‘चार वर्षमा विकास गर्न सकिएन । गठबन्धन बनेपछिको एक वर्षमा तपाईंहरुका लागि सकेजति बजेट ल्याइयो ।’

निर्वाचन परिचालन कार्यालय उद्घाटन नेपाली कांग्रेसका इन्द्रसरोवर गाउँपालिकाका सभापति विश्व लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।