खुकुरी प्रहार गरी एक युवकको हत्या

तु खबर संवाददाता
२०७९ कार्तिक १२, शनिबार ०८:३५

चितवन । चितवनको माडी नगरपालिका–४ घोसरीमा शुक्रबार राति एक व्यक्तिले खुकुरी प्रहार गरी एक युवकको हत्या गरेका छन् । खुकुरी प्रहारबाट अन्दाजी ३३ वर्षीय जीवन नेपालीको हत्या भएको प्रहरीले जनाएको छ ।

सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । नेपालीको हत्या गरेको आरोपमा प्रहरीले नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरिएका व्यक्तिको पहिचान खुलाएको छैन । अनुसन्धानकै क्रम चलेकाले हत्या आरोपित व्यक्तिको पहिचान नखुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनास्थलमा अत्यधिक रगत बगेको र भुईंमा घोप्टिएको अवस्थामा नेपालीको शव भेटिएपछि स्थानीयले प्रहरीलाई राती १२ बजे खबर गरेका थिए । प्रहरीका अनुसार, नेपालीमाथि खुकुरी प्रहार गरेर भाग्ने क्रममा आरोपितले घोसरी गाउँमै घरमा सुतिरहेकी एक महिलाको गहना समेत लुटपाट गरेका थिए ।