तेल चोरी गरेको आरोपमा ४ जना पक्राउ
वीरगञ्ज । बारामा प्रहरीले ठूलो परिमाणमा खाने तेलसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको शिवपुरी गाउँपालिका–१ का सुकमान तामाङ, रौतहट गौर नगरपालिका–१ का ३८ बर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका–६ का ३८ बर्षीय शेख कलाम र ४७ बर्षीय वैद्यनाथ साह तेली रहेका छन् ।
पक्राउ परेका तामाङ ट्रक चालक हुन् भने बाँकी तीन जना व्यापारी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार, परवानीपुर गाउपालिका–५ स्थित मनोकामना आयल एण्ड फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको कमलामाई नगरपालिकास्थित रोविन सप्लायर्सका लागि पठाइएको तेल उनीहरुले रौतहटमा बेचेका थिए ।
बजार मूल्य ४९ लाख ४ हजार ९ सय १२ रुपैयाँ रहेको तेल उनीहरुले रौतहट लगेर ३९ लाख रुपैयाँमा बिक्री गरेको प्रमाण प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएके छ । प्रहरीले उनीहरुको साथबाट तेल ढुवानीका लागि प्रयोग गरिएको प्रदेश २–०३–००१ ख ४८१२ नम्वरको ट्रक समेत बरामद गरेको छ ।
