भीरबाट धकेलिदिंदा भाइको मृत्यु, दाई पक्राउ
बुटवल । अर्घाखाँचीमा एक वृद्धले भीरबाट धकेलेर आफ्नै भाइको हत्या गरेका छन् । भूमिकास्थान नगरपालिका १ खलाधाराको भीरबाट ७४ वर्षीय हिम बहादुर गमालले धकेलिदिंदा सोही ठाउँका ७० वर्षीय वीर बहादुर गमालको मृत्यु भएको हो ।
हिमबहादुर र वीरबहादुर सहोदर दाजुभाइ हुन् । हिमबहादुर गमालले कात्तिक २ गते बेलुकी अन्दाजी ७ बजे बाटोमा हिंड्दै गर्दा लेनदेको विवादपछि भीरबाट धकेलेका थिए । उनीहरु वडा नं. ४ धापानीस्थित एक बैंकबाट बृद्ध भत्ता बुझेर फर्किरहेका थिए ।
अनुसन्धानका क्रममा दाजुभाइबीच लेनदेनको विषयमा विवाद भएको र दाजुले धकेलिदिंदा भीरबाट खसेर भाइको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीरबाट लडेर मृत्यु भएका गमालको शव बिहीबार फेला परेको थियो ।
घटनामा दाजु हिम बहादुर दोषी पाइएपछि उनलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।
