एमाले बागमती प्रदेश कमिटीद्वारा चुनावी परिचालन कमिटी निर्माण

तु खबर संवाददाता
२०७९ कार्तिक २, बुधबार १०:०६

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रदेशका ३३ प्रतिनिधि सभा र ६६ प्रदेश सभा निर्वाचन क्षेत्रको चुनावी परिचालन व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन परिचालन कमिटीहरु निर्माण गरेको छ ।

सो पार्टीको बागमती प्रदेश निर्वाचन समन्वय समितिको मंगलबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई विजयी गराउने गरी दुई छुट्टाछुट्टै निर्वाचन परिचालन कमिटी निर्माण गरेको एमाले नेता तथा बागमती प्रदेश सह–इन्चार्ज आनन्द पोखरेलले जानकारी दिए ।

उनका अनुसार, ती कमिटीले निर्वाचन परिचालनको व्यवस्थापनका साथै अनुगमन समेत गर्नेछ । त्यसैगरी, बैठकले प्रदेशको निर्वाचन परिचालन अनुगमन गर्न स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज काशीनाथ अधिकारीको संयोजकत्वमा चार सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ । अनुगमन समितिमा डा. महेन्द्रबहादुर पाण्डे, पुष्प कँडेल र डोरमणि पौडेल सदस्य छन् ।

त्यस्तै, एमाले पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज पोखरेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन प्रदेश समन्वय समिति गठन गरेको छ । समितिमा नेताहरू धर्मदत्त देवकोटा, रामहरि सुवेदी, विनोद पाण्डे, विजय सुवेदी, अप्सरा चापागाईं र ओम थपलिया सदस्य रहेका छन् ।