नगद ९ लाखसहित एक भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले ९ लाखभन्दा बाढी अवैध रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया–६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन् ।
प्रहरीले उनको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार, बुधबार दिउँसो जिल्ला प्रहरीबाट खटिएको प्रहरी गस्ती टोलीले गौर १ ट्रसमिटर चोकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गरिरहेको थियो । सोही क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रुपैयाँ फेला परेको हो ।
बरामद रुपैयाँ र मोटरसाइकलसहित राज कुमार भगतलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
